(1) १) काफ, र ठूलो गरिमामय यस कुरआनको कसम ।
(2) २) बरु यी मानिसहरूले आश्चार्य प्रकट गरे कि उनीहरूमध्येबाटै एउटा सचेत गर्नेवाला उनीहरूको पासमा आयो, तब काफिरहरूले भन्न थाले कि यो कुरा त अनौठो हो ।
(3) ३) के जब हामी मरेर माटो भइहाल्छौं तब फेरि जीवित हुने कुरो ? यो त बुझ्ने कुरा होइन ।
(4) ४) उनीहरूबाट (शरीरलाई) धरतीले जेजति कम गर्दै जान्छ, हामीलाई थाहा छ र हाम्रो पासमा सुरक्षित राख्ने किताब छ ।
(5) ५) बरु जब उनीहरूको पासमा सत्यधर्म आइपुग्यो तब उनीहरूले उसलाई झूठा भने तसर्थ यिनीहरू एउटा जटिल कुरामा परिरहेका छन् ।
(6) ६) के उनीहरूले आफूमाथि आकाशतिर हेरेनन् ? कि हामीले त्यसलाई कसरी बनाएका छौं र कसरी सुसज्जित गरेका छौं र त्यसमा कहीँ पनि चिरा (प्वाल) छैन ?
(7) ७) र धरतीलाई हामीले बिछाइदिएका छौं र त्यसमा हामीले पहाडहरू स्थापित गर्यौं र त्यसमा हामीले किसिम–किसिमका राम्रा कुराहरू उमारेका छौं ।
(8) ८) ताकि प्रवृत्त हुनेवाला भक्तहरूको लागि मार्गदर्शन र उपदेशको माध्यम बनोस् ।
(9) ९) र हामीले आकाशबाट बरकतवाला पानीको वृष्टि गरायौं र त्यसबाट बाग–बगैचाहरू उमार्यौं र खेतीको अन्न उमार्यौं ।
(10) १०) र अग्ला–अग्ला खजूरका रुखहरू, जसका (फलका) झुप्पाहरू पत्रमाथि पत्र परेका हुन्छन् ।
(11) ११) भक्तहरूको जीविकाको लागि, र हामीले पानीबाट बाँझो भूमिलाई जीवित पार्यौं, यसै प्रकार (चिहानबाट) निष्कासन हुनेछ ।
(12) १२) यसभन्दा पहिला ‘‘नूहको’’ कौम र ‘‘रस्स स्थानका बसिन्दाहरू’’ र ‘‘समूदले’’ झूठा भननिसकेका छन् ।
(13) १३) र आद र फिरऔन र लूतका भाइबन्धुले पनि ।
(14) १४) र ‘‘ऐकावालाहरूले’’ र तुब्बाको समूहले पनि सबैले मिथ्यारोपण गरी रसूलहरूलाई झूठा भनेका थिए । त्यसकारण यिनीमाथि मेरो सजायको वाचा सत्य भइहाल्यो ।
(15) १५) के हामी पहिलो पटक सृष्टि गरेबाट थाकिसकेका छौं ? (होइन,) बरु यिनीहरू पुनः सृष्टि हुनेबारे सन्देहमा छन् ।
(16) १६) र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं ।
(17) १७) जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ ।
(18) १८) मानिसले कुनै कुरा भन्दैन तर उसको पासमा एउटा निरीक्षक तयार रहन्छ ।
(19) १९) र मृत्युको बेहोशीले सत्य कुरा ल्यायो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ ।
(20) २०) र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो ।
(21) २१) र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला ।
(22) २२) निःसन्देह तिमी यस कुरातिरबाट उदासीन थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र छ ।
(23) २३) र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो ।
(24) २४) प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ ।
(25) २५) जो धर्मकामलाई रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो ।
(26) २६) जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई दुःखद यातनामा हालिदेऊ ।
(27) २७) उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो ।
(28) २८) अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिला नै यातनाको वाचा पठाइसकेका थियौं ।
(29) २९) हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं ।
(30) ३०) जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन् ?
(31) ३१) र जन्नत संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन ।
(32) ३२) यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित ।
(33) ३३) जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो ।
(34) ३४) तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो ।
(35) ३५) त्यहाँ उनीहरूले जे चाहनेछन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुरा छन् ।
(36) ३६) र हामीले उनीहरूभन्दा पहिला पनि कैयन् समुदायलाई नष्ट गरिसकेका छौं, जो उनीहरूभन्दा शक्तिमा धेरै बढी थिए, उनीहरू शहरमा घुम्दैरहे कि कतै भाग्ने ठाउँ छ ?
(37) ३७) यसमा प्रत्येक त्यस व्यक्तिको निम्ति शिक्षा छ जसको पासमा हृदय छ र उसको निम्ति जो हाजिर भई ध्यान लगाएर कानले सुन्दछ ।
(38) ३८) हामीले आकाशहरूलाई र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, ६ दिनमा सृष्टि गरिदियौं र हामीलाई कुनै थकाइले छुनसकेन ।
(39) ३९) यसर्थ जे जति यिनीहरू (कुफ्फार) भन्दछन् त्यसमा धैर्य धारण गर्नुस् र सूर्य उदयभन्दा अगाडि र त्यो अस्त हुनुभन्दा पहिला आफ्नो पालनकर्ताको प्रशंसाको साथ गुणगान गर्दैगर्नु ।
(40) ४०) र रातको कुनै बेला पनि उसको महिमागान गर्नु र नमाजपछि पनि ।
(41) ४१) र ध्यानपूर्वक सुनः जुन दिन पुकार्नेवालाले नजिकको ठाउँबाट पुकार्नेछ ।
(42) ४२) जुन दिन मानिसहरूले त्यो ठूलो चित्कार निश्चिततौरले सुनिहाल्नेछन् । त्यही (चिहानबाट) निस्किने दिन हुनेछ ।
(43) ४३) हामीले नै जीवित गर्दछौं र हामीले नै मार्दछौं र हाम्रै पासमा फर्केर आउनुछ ।
(44) ४४) जुन दिन जमिन (धरती) फाट्नेछ र उनीहरू झट्ट निस्किहाल्नेछन् । यो एकत्रित गर्नु हामीलाई बिल्कुल सरल छ ।
(45) ४५) यी मानिसहरूले जे जति भन्दछन्, हामीलाई राम्ररी थाहा छ र तपाई उनीहरूमाथि जबरजस्ती गर्नेवाला होइनौ । तसर्थ जो हाम्रो (सजायको) धम्कीबाट डर मान्छन्, कुरआनको माध्यमबाट उनीहरूलाई सम्झाउँदै गर्नुस् ।