(1) १) हे (मुहम्मद !) लुगा बेर्नेवाला,
(2) २) उठ र सावधान गरीदिनु ।
(3) ३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।
(4) ४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
(5) ५) फोहोरपनालाई छाडिदिनु ।
(6) ६) र भलाई गरेर यसभन्दा बढी लिने इच्छा नगर्नु ।
(7) ७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
(8) ८) जब सूरमा फूँक मारिनेछ ।
(9) ९) त्यो दिन बडो कठोर दिन हुनेछ ।
(10) १०) काफिरहरूको लागि सजिलो हुनेछैन ।
(11) ११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
(12) १२) र प्रशस्त माल–सम्पत्ति दियौं ।
(13) १३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
(14) १४) मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
(15) १५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
(16) १६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ,
(17) १७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
(18) १८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
(19) १९) नष्ट होस् उसले कस्तो अड्कल गर्यो ?
(20) २०) फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो,
(21) २१) उसले फेरि देख्यो ।
(22) २२) फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
(23) २३) अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
(24) २४) अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
(25) २५) यो मात्र मानिसको वाणी नै हो ।
(26) २६) हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
(27) २७) र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो ?
(28) २८) (आगो हो) जो न बाँकी राख्नेछ न त छाड्दछ ।
(29) २९) र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
(30) ३०) त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
(31) ३१) र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।
(32) ३२) साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
(33) ३३) र रातको जब कि त्यसले पछाडि हट्दछ ।
(34) ३४) र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
(35) ३५) निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
(36) ३६) मानिसहरूको निम्ति भयको कारण ।
(37) ३७) तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
(38) ३८) हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
(39) ३९) तर दायाँ हात वालाहरू ।
(40) ४०) उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।
(41) ४१) अपराधीहरूसँग,
(42) ४२) (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो ?
(43) ४३) उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
(44) ४४) र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ,
(45) ४५) र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
(46) ४६) र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
(47) ४७) यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
(48) ४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
(49) ४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
(50) ५०) जस्तो कि तर्सेको गधहा हुन् ।
(51) ५१) जो बाघ देखेर भागेका छन् ।
(52) ५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
(53) ५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कियामतबाट निर्भीक छन् ।
(54) ५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
(55) ५५) अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
(56) ५६) र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।